“जीवनमा केही राम्रो गर्नु छ भने, पहिलो पाइलामा नै डरलाई जित्नुपर्छ” उनी भन्छन् । यो कुरा उनले आफ्नो जीवनकालको पहिलो व्यवसाय सुरु गर्दा महसुस गरेका थिए । जुन दिन उनले आफ्नो पहिलो व्यावसायिक कामको यात्रा शुरु गरे, त्यो दिन सम्झँदा अझै पनि उनको अनुहारमा चमक आउँछ । न कुनै बैंक वित्तीय संस्थाको सहयोग थियो, न कामको अनुभव, थियो त केवल आत्मविश्वास र दृढ संकल्प ।
बुबा दिल बहादुर दमाई र आमा पद्म कुमारी दमाईको कोखबाट वि.सं. २०३१ साल चैत्र ११ गते नमोबुद्धको पात्लेगाउँ भन्ने एउटा सानो गाउँमा जन्मेका उनी हुन् डोर बहादुर दमाई । गाउँघरमा बिहान बेलुका छाक टार्न मुस्किल त्यस बेलाको अवस्था उनी सम्झन्छन् । तर उनले जिन्दगीमा एउटै अठोट लिएका थिए “म कसैको काम गर्दिन बरु ३ हजारको मात्र किन नहोस् म आफ्नै व्यवसाय गर्छु ।” यही आत्मविश्वास लिएर उनी वि.सं. २०५३ सालमा पात्लेगाउँबाट गाडी चढी राजधानीतर्फ लागे । त्यसबखत उनी १९ वर्षका थिए । त्यति बेलाको समयमा राजधानीमा उनले न कसैलाई चिन्दथे न कसैले उनलाई । केही गर्न सकिन्न की, बरु घरै फर्किनु पर्छ की भन्ने कुराले पिरोलिरहन्थ्यो । उनीसँग थियो त केबल आफ्नो बाउ बाजेदेखि गर्दै आएको सिलाई बुनाई गर्ने कामको सीप । उनले ठमेलमा एउटा सानो ठाउँमा दुईवटा कपडा सिउने खुट्टे मेसिन राखेर आफ्नो व्यावसायिक जीवनको यात्रालाई शुरु गरे । केही वर्ष जसोतसो राजधानीमा टिकेर बसे । बिस्तारै त्यहाँको माहोलसँग अभ्यस्त हुँदै गएका उनले ठमेलमा उतिबेला देखि नै विदेशीहरुको धेरै चहलपहल हुने हुँदा विदेशीहरुले रुचाउने खालका कपडा सिउन उपयुक्त हुन्छ भन्ने ठाने र कपडा पसलेहरुसँग अर्डर लिएर कपडा सिलाउन थाले । त्यतिबेला एक पिस कपडा बनाए बापत उनलाई १५ रुपैयाँ आउथ्यो । उनले दिनभरमा राम्रै कपडा सिलाउँदथे, जसले अलि सहज हुँदै गयो । उनमा हिम्मत पनि बढ्दै गयो र बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि.बाट श्रीमतीको नाममा २० हजार रुपैयाँ ऋण सापटी लिएर एउटा सटर भाडामा लिए । त्यतिबेला एकजना काम गर्ने कामदार समेत राखेर व्यवसाय विस्तार गरेको कुरा उनी सम्झन्छन् । विस्तारै उनको व्यवसाय फस्टाउँदै गयो । कमाई पनि राम्रै भयो ।
तर समय सधैँ कहाँ एकनाश रहन्छ र? २०७२ सालमा गएको महाभुकम्प र त्यसबाट परेको प्रभावले उनको व्यवसाय सुस्तायो । विस्तारै व्यवसायले केही लय लिन मात्र थालेको थियो । केही समयमा नै विश्वभरी महामारीको रुपमा फैलिएको कोभिड १९ को प्रकोपले गर्दा व्यवसाय अस्तव्यस्त नै भयो । उनी काठमाडाँैको महँगो भाडा र अत्याधिक खर्चको चपेटामा पर्दै गए र अन्त्यमा उनले गाउँ नै फर्कने निर्णय गरे । गाउँ फर्कदै गर्दा सहकारीबाट ऋण लिई घरको तला थपेर घरमै आफुले गर्दै आएको व्यवसायलाई निरन्तरता दिन्छु भन्ने योजना बनाए ।
योजना मुताविक उनले बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि. बाट ऋण लिएर घरको तला थपी आफ्नै घरमा व्यवसाय विस्तार गरे । आफ्नै घर भएको हुँदा उनलाई चर्को भाडा र खर्चको भार परेन । काठमाडौंको भन्दा राम्रो पैसा बचत हुन थाल्यो । उनले सहकारीबाट लिएको ऋणको किस्ता ब्याज सजिलै बुझाउँदै गए । ऋण पनि छिट्टै घट्दै गयो । उनी भन्छन “मलाई बुडोल सामुदायिक सहकारीले मेरो अभिभावकले गर्ने काम गरेको छ । मलाई कसैले नपत्याउने त्यो समयमा सारथीको काम गर्यो । त्यही भएर म र मेरो परिवार आजसम्म बुडोल सहकारीमा मात्र सदस्य छौं ।” “हामीलाई अन्त किन जानु पर्यो र? गाह्रोसाह्रो पर्दा आर्थिक सहयोग पनि गरेकै छ । आवश्यक पर्दा सरल रुपमा ऋण पनि दिएकै छ” उनी थप्छन् । यसै गरी उनले पुनः सहकारीबाट ऋण थप गरी हालसम्ममा १२ वटा बिजुलीबाट चल्ने मेसिन खरिद गरेका छन । अहिले उनको कमाई सालाखाला मासिक १ लाख २० हजार जति हुन्छ । विदेशमा रहेकी बुहारीलाई समेत नेपालमै बोलाएर आफ्नै पेशामा संलग्न गराउने उनको सोच छ । अब विदेशीहरुले लगाउने कपडा आफैले उत्पादन गरी बजारमा बिक्री गर्ने उनको योजना छ । त्यसले आम्दानीमा अझै थप उचाई लिने कुरामा उनी विश्वस्त छन् । अहिले डोर बहादुरको कारखानामा उनी र उनको दुई छोरा, एक छोरी, एक बुहारी सहित गाउँका ४ जना भतिजाहरुले पनि रोजगारी पाएका छन् । परिवारका सबै सदस्य घरकै खाना खाएर घरमै बसेर व्यवसाय सञ्चालन गरी गाउँका केही युवाहरुलाई समेत रोजगार दिई काम गर्दै आईरहेका छन् । उनी भन्छन “जीवनमा जस्तो सुकै परिस्थिति आए पनि आफ्नो जीवनको लक्ष्यलाई पछ्याउँदै अगाडि बढ्दा एक दिन गन्तव्यमा पक्कै पुगिन्छ, बस् बीच बाटोबाटै फर्किनु भने हुन्न ।” विदेशमा गए मात्र पैसा कमाईन्छ, नेपालमा पैसा कमाउन र जोगाउन सकिन्न भन्नेहरुलाई उनी भन्छन, “नयाँ सीप सिकेर अथवा आफ्नो पुर्खाले सिकाएका सीपलाई सदुपयोग गरेर पनि हामी आत्मनिर्भर बन्न सक्छौँ । तर मेहनत र परिश्रम चाँहि गर्नुपर्छ, यहाँ पनि कामै गर्नुपर्छ, विदेशमा पनि कामै गर्नुपर्छ ।”
कुराकानीलाई बिट मादैै गर्दा संस्थाले आफ्नो जीवनको उतारचढावलाई बुसा दर्पणमा छापेर अवसर प्रदान गर्न लागेको प्रति धन्यवाद दिदै उनले भने “संस्थाले मेरो दुःखको बेलामा लगाएको गुनलाई मेरो परिवारले कहिले पनि बिर्सने छैन ।”
Total Share Capital:
(NRs. 16,97,06,200.00)
Total Institutional Capital:
(NRs. 17,05,54,763.11)
Total Saving:
(NRs. 1,68,62,66,129.97)
Total Assets:
(NRs. 2,11,33,53,186.84)
Total members :
27,104 ( Male: 8,599 Female: 10,529 Inst: 18)
Total No. of Child Saver:
7,958
Total No. of Employee:
49 (F-20, M-29)